July 24, 2017
Highlights:

               पूर्वाञ्चलको ऐतिहासिक गौरव बोकेको, जनसंख्याको दृष्टिकोणले नेपालको दोश्रो ठूलो जिल्ला मोरङ्ग प्राचिन कालमा राजा विराटको राजधानीको रुपमा प्रख्यात थियो । कालान्तरमा यस जिल्लामा हाङ्ग नामक किराती राजाले राज्य संचालन गर्दाताका यहाकोे प्रशासन क्षेत्रलाई मावरङ्ग भन्ने चलन थियो । पछि सोही मावरङ्ग भन्ने शब्द नै अपभ्रंस भई मोरङ्ग भन्न थालिएको हो । अधिकांश भू–भाग तराइले ओगटेको यो जिल्ला पूर्वी नेपालको औद्योगिक एवं व्यापारीक केन्द्रको रूपमा परिचित छ । नेपाल अधिराज्यको चौध अञ्चल मध्ये कोशी अञ्चलको ६ वटा जिल्लामा सबै भन्दा विकसित जिल्लाको रूपमा रहेको मोरङ जिल्ला कोशी अञ्चलकै सदरमुकामको रूपमा रहेको छ । राजधानी काठमाण्डौबाट पूर्व ५०६ कि.मी. दूरीमा यस जिल्लाको सदरमुकाम विराटनगर रहेको छ । प्रारम्भमा मोरङ् जिल्ला भन्नाले झापा तथा सुनसरी जिल्ला समेत ओगट्थ्यो । २०१९ सालको जिल्ला विभाजन हुँदा हालको स्वरूपमा जिल्लाको आकार बन्न गएको हो । महाभारतकालीन विराट राजाको दरवार, राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षि पोखरी लगायत डाईनियाको हरिश्चन्द्र गढी आदि जस्ता ऐतिहासिक स्थलहरू रहेको मोरंग जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकाणले पनि महत्वपूर्ण रहेको छ । सांस्कृतिक रूपले समेत यो जिल्ला समृद्ध छ । विभिन्न जात जातिको बसोबास भएकोले आ–आफ्नै भेषभुषा तथा रहन सहन र संस्कृति यहां देख्न सकिन्छ । कृषि उत्पादनका लागी उर्वर भूमी भएको हुनाले अन्य जिल्लाबाट बसाई गरेर आउने पनि निकै बढी रहेकोछ । मोरङ जिल्लाको आकृति उत्तर दक्षिण लम्बाईमा झण्डै बर्गाकार आकारको छ । जमिनको बनावट अनुसार यस जिल्लामा पहाडी क्षेत्र, भावर क्षेत्र र तराई क्षेत्र रहेको छ ।

वि.स. २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि स्थापना भएका ४० वटा वन डिभिजन कार्यालय मध्ये मोरङ्ग वन डिभिजनको नामबाट यस जिल्लाको वनजंगल संरक्षण तथा सम्बद्र्धन हुदै आएको र २०४० सालमा जिल्ला वन कार्यालय स्थापना भएको थियो । जिल्लाको कुल भुभागको २९.९२ प्रतिशत क्षेत्रफल (५५,५०० हेक्टर) वनक्षेत्रले ओगटेको यस जिल्लाको मुख्य प्राकृतिक श्रोतको रुपमा वन जंगल पर्दछ भने अन्यमा जडिबुटी, नदिनाला, ताल–तलैयाहरु पर्दछन् ।


डाउनलोड