हाम्रो बारेमा

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालका सात वटा प्रदेशहरूमध्ये पूर्वी क्षेत्रमा रहेको प्रदेश नं. १ को ऐतिहासिक गौरव बोकेको, जनसंख्याको दृष्टिकोणले नेपालको दोश्रो ठूलो जिल्ला मोरङ्ग प्राचिन कालमा राजा विराटको राजधानीको रुपमा प्रख्यात थियो । कालान्तरमा यस जिल्लामा हाङ्ग नामक किराती राजाले राज्य संचालन गर्दाताका यहाको प्रशासन क्षेत्रलाई मावरङ्ग भन्ने चलन थियो । पछि सोही मावरङ्ग भन्ने शब्द नै अपभ्रंस भई मोरङ्ग भन्न थालिएको हो । अधिकांश भू–भाग तराइले ओगटेको यो जिल्ला प्रदेश नं. १ कै औद्योगिक एवं व्यापारीक केन्द्रको रूपमा परिचित छ । प्रदेश नं. १ को राजधानी विराटनगर समेत रहेको यस जिल्ला यस प्रदेशकै विकसित जिल्लाको रूपमा रहेको छ । संघीय राजधानी काठमाण्डौबाट पूर्व ५०६ किमी दूरीमा यस विराटनगर रहेको छ । प्रारम्भमा मोरङ् जिल्ला भन्नाले झापा तथा सुनसरी जिल्ला समेत ओगट्थ्यो । २०१९ सालको जिल्ला विभाजन हुँदा हालको स्वरूपमा जिल्लाको आकार बन्न गएको हो । मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ । यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलामसँग जोडिएको छ भने उत्तरमा धनकुटा, पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसँग यसको सीमाना रहेको छ । वि।सं। २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो ।

महाभारतकालीन विराट राजाको दरवार, राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षि पोखरी लगायत डाईनियाको हरिश्चन्द्र गढी आदि जस्ता ऐतिहासिक स्थलहरू रहेको मोरंग जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकाणले पनि महत्वपूर्ण रहेको छ । सांस्कृतिक रूपले समेत यो जिल्ला समृद्ध छ । बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजाको राजधानीको र मध्यकालमा लिम्बुवानको सबैभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो । विभिन्न जात जातिको बसोबास भएकोले आ–आफ्नै भेषभुषा तथा रहन सहन र संस्कृति यहां देख्न सकिन्छ । कृषि उत्पादनका लागी उर्वर भूमी भएको हुनाले अन्य जिल्लाबाट बसाई सरी आउने संख्या दिनानुदिन बढी रहेको छ । मोरङ जिल्लाको आकृति उत्तर दक्षिण लम्बाईमा झण्डै बर्गाकार आकारको छ । जमिनको बनावट अनुसार यस जिल्लामा पहाडी क्षेत्र, भावर क्षेत्र र तराई क्षेत्र रहेको छ ।

जलभण्डार तथा जलश्रोतको हिसाबले बक्राहा नदी, चिसाङ नदी, खदम नदी, मावा नदी, रतुवा नदी, डाँस नदी, सीता नदी, लोहन्द्रा नदी, केशलिया नदी, बुढी गङ्गा ,मिक्लु नदी, सिङ्गयाही नदी तथा गछीया आदि खोलाहरू मुख्य मानिन्छन् । प्रायस् यी सबै खोलाहरूको मुहान चुरे क्षेत्र नै हो । यसका साथै मोरङ जिल्लामा मोरङ्गी, बेतना, जुडी, साखरे, कचला आदी जस्ता साना खोलाहरू छन् ।

वि.स. २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि स्थापना भएका ४० वटा वन डिभिजन कार्यालय मध्ये मोरङ्ग वन डिभिजनको नामबाट यस जिल्लाको वनजंगल संरक्षण तथा सम्बद्र्धन हुदै आएको र २०४० सालमा जिल्ला वन कार्यालय स्थापना भएको थियो । देश संघीय संरचनामा गएपछि प्रादेशिक साँगठनिक संरचना तयार गर्ने क्रममा हाल यस जिल्लामा १ डिभिजन वन कार्यालय र यस मातहतमा १२ वटा सब डिभिजन वन कार्यालयमार्फत वन जंगलको संरक्षण र वन सेवा प्रवाह हुँदै आइरहेको छ ।